प्रधानमन्त्री शेरबहादुर देउवा चैत्र १८ गते भारत भ्रमणमा जाने भएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा देउवा पत्नी आरजुसहितको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चैत १८ गते भारतको नयाँदिल्ली जाने भएका हुन् ।
नेपाल र भारतको परराष्ट्र मन्त्रालयले सोमबार दिउँसो एकै समयमा विज्ञप्ति जारी गर्दै भ्रमणको औपचारिक जानकारी दिएको छ । जसअनुसार प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच चैत १९ गते शनिबार भेटवार्ता हुने जनाइएको छ ।
भारतीय विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री देउवा मोदीको निर्वाचन क्षेत्र बनारस पनि जानेछन् ।
भ्रमणका क्रममा देउवाले भारतका उपराष्ट्रपति वैन्कैया नायडु, विदेश मामिलामन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारसँग पनि भेट गर्नेछन् ।