हालै भएको विधानसभा निर्वाचनमा पराजित भए पनि पुष्कर सिंह धामी उत्तराखण्डको मुख्यमन्त्री बन्ने भएका छन्।
भाजपाले स्पष्ट जित हात पारे पनि उत्तराखण्डको नयाँ मुख्यमन्त्री को बन्छ भन्ने अन्योलका बीच भाजपाले धामीलाई आगामी मुख्यमन्त्रीको रुपमा अघि सारेको हो।
आफू पराजित भए पनि पार्टीलाई जिताएको हुँदा भाजपाले उनलाई मुख्यमन्त्री बनाउन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भाजपा विधायक दलको बैठकले धामीलाई नयाँ मुख्यमन्त्रीका रुपमा अगाडि सारेको हो।
पुष्करसिंह धामीको नेतृत्वमा चुनाव लडेको भाजपाले उत्तराखण्डमा ४७ सिटमा जित हात पारेको हो, जुन संख्या सरकार बनाउनका लागि स्पष्ट बहुमत हो। मुख्यमन्त्रीका आधा दर्जन आकांक्षीलाई पछि पार्दै धामीले बाजी मारेका हुन्।