कैलालीमा विवाहमा नाचगान गर्ने क्रममा भएको विवादले एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भजनी नगरपालिका–९ का २५ वर्षीय बसन्त चौधरी रहेका छन् ।
फागुन ७ गते सोही ठाउँमा विवाह भइरहेका बेला उनीमाथि कुटपिट भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार बसन्तसहितका युवा विवाहमा संगसंगै नाचगान गर्ने क्रममा विवाद उत्पन्न भइ कुटाकुट भएको थियो ।
कुटपिटबाट घाइते बसन्तलाई सोही राति नै उपचारका लागि सुखडस्थित घोडाघोडी अस्पतालमा लगिएको थियो । तर, त्यहाँ उपचार सम्भवन नभएपछि ८ गते विबहान कोहलपुर रिफर गरिएको थियो । कोहलपुरमा उपचारकै क्रममा चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक जोशीले बताए ।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । एक जनालाई घटना भएकै दिन र चार जनालाई सोमबार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक जोशीले जानकारी दिए ।
पक्राउ परेकाहरुको प्रहरीले नाम खुलाएको छैन । मुद्दा दर्तापछि उनीहरुको नाम सार्वजनिक गर्ने जनाइएको छ ।