श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ युएईमा अलपत्र नेपालीहरूको व्यवस्थापनका लागि आगामी साता युएई जाने भएका छन् ।
वैदेशिक रोजगारीको प्रलोभनमा परी पर्यटन तथा अन्य भिसामा युएई गई अलपत्र परेका नेपालीहरूको व्यवस्थापनका विषयमा युएई सरकारसँग छलफल गर्न मन्त्री श्रेष्ठ युएई जान लागेका हुन् ।
नेपाली नागरिकलाई युएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन र पीडितलाई कसरी न्याय दिलाउन सकिन्छ भन्नेबारे मन्त्री श्रेष्ठले नेपालका लागि युनाइटेड अरब इमिरेट्स (युएई) का राजदूत साइद हमदान अल नाकीसँग आज मन्त्रालयमा छलफल समेत गरेका छन् ।
मन्त्री श्रेष्ठले रोजगारीको प्रलोभनमा युएई गई अलपत्र परेका नेपालीहरूको समस्या समाधानमा सहयोग गर्न राजदूत साइदसँग आग्रह गरे । उनले अलपत्र परेका नेपालीहरूलाई युएईमै रोजगारीको अवसर प्रदान गर्ने, भिसा अवधि सकिएर बढी शुल्क बुझाउनुपर्ने वा गैर कानुनी रुपमा बस्नुपर्ने बाध्यता भएकाहरूलाई आममाफी दिनुपर्ने तथा उद्धार गर्नुपर्नेहरुलाई नेपाल फिर्ता गर्ने क्रममा युएई सरकारबाट सहयोगको अपेक्षा गरिएको बताए ।
नक्कली माग पत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर प्रचलित कानुनले तोकेको प्रक्रियाभन्दा बाहिरबाट नेपालीलाई युएई पुर्याउने कार्यमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन पनि युएई सरकारबाट सहयोगको अपेक्षा गरिएको मन्त्री श्रेष्ठको भनाइ छ ।
राजदूत साइदले अलपत्र परेका नेपालीलाई युएईमा नै रोजगारी दिलाउन तथा उद्धार गर्नुपर्नेहरुलाई पनि आवश्यक सहयोग गर्ने बताए ।
मन्त्री श्रेष्ठको युएई भ्रमणको क्रममा नेपाल–युएई संयुक्त समितिको बैठक पनि आयोजना हुनेछ ।