२८ करोड राजश्व छली गरेको आरोपमा पक्राउ परेका उमाशंकर रायभर २५ हजार धरौटी बुझाएर आइतबार रिहा भएका छन् ।
यसअघि उच्च अदालत पाटनले ७५ लाख धरौटी मागेपछि बुझाउन नसकेर थुनामा रहेका रायभर आइतबार रिहा भएका हुन् । सर्वोच्च अदालतले शुक्रबार उनको धरौटी रकम घटाएर २५ हजार बनाइदिएको थियो ।
सर्वोच्चका न्यायाधीश विश्वम्भर श्रेष्ठ र सपना प्रधान मल्लको इजलासले रायभरलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएपछि आइतबार प्रक्रिया पूरा गरेर उनी रिहा भएका हुन् ।
रायभर २५ हजार धरौटी बुझाएपछि तारेखमा छुटेका हुन् । सर्लाहीका सरोजकुमार मिश्राले उनको नागरिकता दुरुपयोग गरेर कम्पनी खोलेर राजश्व छली गरेको खुलेपछि सर्वोच्च अदालतले धरौटी घटाएको हो ।
रायभरको नाममा मिश्रले विभिन्न कम्पनीबाट १ अर्ब ४ करोड राजश्व ठगी गरेको भन्दै राजश्व अनुसन्धान विभागले उच्च अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा रायभरसमेत थिए ।
मिश्रले रायभरको नाममा संस्था खोलेर राजश्व छली गरेको पाइएको सर्वोच्चको फैसलामा उल्लेख गरेको छ । रायभरको आर्थिक र पारिवारिक अवस्था हेरेर सर्वोच्च अदालतले धरौटी घटाएर रिहा गरेको हो ।