नेपाली युवा भिजिट भिसा प्रयोग गरेर खाडी मुलुक पुगेपछि भइरहेको समस्याको विश्लेषण गर्दै गृह मन्त्रालयले अध्ययनका लागि समिति बनाएको छ ।
मंगलबार गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षमा सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवको उपस्थितिमा बसेको बैठकले गृहसचिव फणिन्द्रमणि पोखरेलको अध्यक्षतामा समिति बनाएको हो ।
समितिमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन, परराष्ट्र, श्रम, रोजगार मन्त्रालय, नेपाल प्रहरी, अध्ययगमन विभाग तथा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको प्रतिनिधित्व रहेको छ ।
समितिलाई भिजिट भिसा उपलब्ध गराउने मापदण्ड, अन्तर्राष्ट्रिय विमास्थलमा आवागमन सहजीकरण, अध्यागमन प्रणाली सुधार, यात्रुको व्यवस्थापन, श्रमिक विदेशमा रहँदा भोगेका समस्या समाधानलगायत सुझावसहित १५ दिनभित्र प्रतिवेदन दिन भनिएको छ ।
