प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले कोभिड–१९ महामारीको समयमा विचलित नभई कार्य सम्पादन गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।
सोमबार भर्चुअल भएको अर्धवार्षिक कार्य प्रगति समीक्षा कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सो निर्देशन दिएका हुन् ।
उनले कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशअनुसार काम कारवाही गर्न गराउन पनि निर्देशन दिए । प्रहरी महानिरीक्षक थापा क्षेत्रीले कोभिड–१९ को जोखिम न्यूनिकरण तथा रोकथामको लागि सबै प्रहरी कर्मचारीहरु थप क्रियाशिल हुनुपर्ने बताए ।
उनले प्रहरीको सकृयताका कारण फैसला कार्यान्वयन, जघन्य अपराध, तस्करी नियन्त्रण तथा अनुसन्धानका क्षेत्रमा सकारात्मक प्रगति भएको तथ्याङकले देखाएको चर्चा गरे । सवारी दुर्घटना, लैंगिक हिंसाका घटनाहरुको न्यूनिकरण तथा अनुसन्धान एवम् हिरासत व्यवस्थापनमा अझ संवेदनशील तथा गम्भीरताका साथ परिचालन हुनुपर्नेमा उनले जोड दिए ।
पीडितले समयमै न्यायको आभाष गर्न सकेको अवस्थामा प्रहरीप्रतिको उनीहरुको भरोसा बढेर जाने भएकोले त्यसप्रति संवेदनशील भई कार्य गर्नुपर्ने उनले बताए ।
प्रहरी महानिरीक्षक थापा क्षेत्रीले मुद्दाको अनुसन्धान पश्चात अदालतमा गर्नुपर्ने बकपत्रको बिषय समेत अत्यन्तै संवेदनशील हुने भएकोले त्यसप्रति सचेत भई कार्यसम्पादन गर्नुपर्ने बताए ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थितिको साथै सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू तथा प्रतिनिधिको भर्चुअल उपस्थिति रहेको थियो ।