सरकार सञ्चालनका लागि गठित पाँच दलीय गठबन्धन समन्वय समितिको बैठकले स्थानीय चुनाव वैशाखमा गर्ने सहमति गरेको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय चुनाव वैशाखमा गर्ने सहमति गरेको बैठकमा सहभागी सञ्चारमन्त्री समेत रहेका ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । उनले संविधानबमोजिम समयमै चुनाव गरिने बताए ।
उनले भने, ‘स्थानीय तहको निर्वाचन समयमा गर्छौँ । निर्वाचन आयोगसँग परामर्श भइरहेको छ’ । संविधानले तोकेकै समयमा निर्वाचन सकेर संघीयतालाई मजबुद बनाउँछौँ । स्थानीय तहलाई अझै प्रभावकारी बनाउने कुरामा प्रतिवद्ध छौँ ।’
कार्कीले यसका लागि सरकारले निर्वाचन आयोगसँग निरन्तर छलफल गरिरहेको पनि जानकारी दिए । ‘समयमै स्थानीय तहको निर्वाचन सम्पन्न हुन्छ । तपाईंहरु यसमा ढुक्क भए हुन्छ’, उनले भने । यसबारे थप छलफल गर्न बिहीबार फेरि समन्वय समितिको बैठक बस्ने छ ।
केही दिनअघि निर्वाचन आयोगले स्थानीय तहको चुनावको मिति तत्काल घोषणा गर्न सरकारलाई आग्रह गरेको थियो ।
संविधानमा स्थानीय जनप्रतिनिधिको कार्यकाल ५ वर्षको हुने उल्लेख छ । विशेष अवस्थामा यसको म्याद ६ महिना थप गर्न सकिने व्यवस्था छ । सामान्यतः कार्यकाल सकिनु २ महिना अगाडि नै स्थानीय तहको निर्वाचन गरिसक्नुपर्ने प्रावधान छ ।
उनले बैठकमा माघ १२ गते हुने राष्ट्रिय सभा चुनावमा गठबन्धनका उम्मेदवारको जित सुनिश्चित गराउने विषयमा छलफल भएको जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको सहभागीता रहेको थियो ।
सोमबार प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटपछि सरकार सञ्चालनका लागि गठित पाँच दलीय गठबन्धन समन्वय समितिको बैठक बोलाउने सहमति भएको थियो ।