आँधीखोला गाउँपालिका–१ भकिम्लेमा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा आँधीखोला गाउँपालिका—१ सिरुबारी अधिकारी टोल बस्ने २७ वर्षीय मनोज विक रहेको प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताए ।
मृत्यु भएका विकको शव घरदेखि दुई सय मिटर टाढा बारीमा फेला परेको हो । त्रिवेणीमाथिको जंगलमा भरुवा बन्दुकसहित कुखुरा मार्न गएका सात जनामध्ये चार जना फर्किएको र तीन जना नफर्किएपछि खोजतलास गर्नेक्रममा भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको अवस्थामा बिकको शव फेला परेको हो ।
घटनास्थलबाट स्थानमा एक थान भरुवा बन्दुक फेला परेको छ भने सँगै गएका दुई जनाको खोजी भइरहेको अधिकारीले बताए ।
जंगलबाट फर्केका चार जनालाई आवश्यक अनुसन्धान तथा सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।