नेपाली कांग्रेस जिल्ला अधिवेशनको रौनकले बारामा चुनावी सरगर्मी निकै बढेको छ ।
जिल्ला सभापतिको नेतृत्व लिन हालसम्म ३ जनाले उम्मेदवारी घोषणा गरिसकेका छन् । शम्भुबहादुर बुढाथोकी, रामानन्द यादव र राजेश राय यादवले सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।
सभापतिमा दावेदार बुढाथोकीलाई पार्टी सभापति शेरबहादुर देउवा, सहमहामन्त्री फरमुल्लाह मन्सुर, प्रदेश २ का उप सभापति चन्द्रशेखर यादव र जिल्ला सभापति जयचन्द्र चौरसियाको बलियो साथ छ ।
अर्का, उम्मेदवार रामानन्द यादवलाई शेखर कोइराला र राजेश राय यादवलाई पूर्व केन्द्रीय सदस्य राधेचन्द्र यादवले साथ दिएका छन् ।
जिल्ला अधिवेशनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरुको दौडधुप बढेको छ । उनीहरुले जित्ने आ आफ्नै दाबी पेस गरेका छन् ।
उम्मेदवार मध्येका एक बुढाथोकीले बारामा कांग्रेस बढाएको, स्थानीय एवं संघीय सांसदको निर्वाचनमा पार्टीलाई विजयी गराउन अहम भुमिका निर्वाह गरेको दृष्टान्तत पेश गरेका छन् । पार्टी जिल्ला संगठन विभाग प्रमुख समेत रहेका बुढाथोकीले २०७० सालको संसदीय निर्वाचनमा एमाले नेता पुरुषोत्तम पौडेलसंग पराजित भएता पनि सानदार मत प्राप्त गरेका थिए ।
एमालेको लालकिल्लाको रुपमा स्थापित निजगढमा उनको उदयपछि कांग्रसको दवदवा बढ्दै आएको स्थानीय बताउँछन् । अन्य पार्टीसंग प्रतिस्पर्धा गर्न सक्ने एवं पार्टीलाई मजबुत बनाउनका लागि आफुले नेतृत्व लिन चाहेको बुढाथोकीले बताए ।
आगामी स्थानीय, प्रदेश एवं संघीय निर्वाचनमा बाराको सबै क्षेत्रमा पार्टीलाई विजयी बनाउन निर्भिक, निडर र निस्वार्थ रुपमा आफु अघि बढेको उनले बताए । अहिले नेपाली कांग्रेस बारालाई एकताबद्ध गर्न सक्षम नेतृत्वको आवश्यकता रहेको र त्यसका लागि आफु नै उपयुक्त रहेको बुढाथोकीको भनाइ छ । जिल्ला संगठन विभाग प्रमुख भएकाले पनि अध्यक्षमा दाबी स्वभाविक हुने उनको भनाइ छ ।
व्यापारी पृष्ठभुमिका बुढाथोकीको सामाजिक योगदानले समेत अन्य पार्टीका सदस्यहरु समेतले उनलाई मन पराउने गरेका छन् । उनलाई जिल्ला सभापतिमा जिताउनका लागि बारा क्षेत्र नं. १ का सभापति तथा सिम्रौनगढका नगरपालिकाका प्रमुख विजयशंकर यादव, क्षेत्र नं.३ का सभापति प्रभात चौरसिया, प्रदेशसभा ४ क का सभापति सुमन भट्टराई, प्रदेश ४ ख का सभापति लोकश सिंह, मनीभुसन यादव तथा लालबाबु यादवसहित जिल्लाका प्रभावशाली नेता कार्यकर्ताहरुको साथ रहेको छ ।
बारासहित बाँकी रहेका १६ जिल्लाको अधिवेशन यही पुष २७ गतेलाई तोकेता पनि केन्द्रिय निर्वाचन समीतिले विज्ञप्ती जारी गर्दै माघ १५ गतेलाई सारेको हो ।