लागूऔषध ब्राउन सुगर किन्न लागेको अवस्थामा पक्राउ परेका चर्चित र्यापर आशिष राना ‘लाउरे’ लाई ८ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत कास्कीले शुक्रबार र्यापर लाउरेसहित चार जनालाई आठ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए ।
लाउरेसहित ४ जना बुधबार राति लागूऔषध ब्राउन सुगर किन्न लागेको अवस्थामा पोखराको न्युरोडबाट पक्राउ परेका थिए । लाउरेसँगै नविन गुरूङ, सुस्मिता गुरूङ र ध्रुवबहादुर थापा पक्राउ परेका थिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएका उनीहरूको साथबाट १३.०१ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
उनी चर्चित रियालिटी शो हिमालय रोडिजका निर्णायकसमेत हुन् । हाउडे, मेरो सोल्टा, नेपहपको बाटो, चुप लाग, सुपर रागा, दुई रुपैयाँ, तीतो सत्य उनका चर्चित गीतहरु हुन् ।