पछिल्लो २ महिनामा सप्तकोशी नदीमा ६ जनाले आत्महत्याको प्रयास गरेका छन् ।
असार र साउनमा गरि ६ जनाले सप्तकोशीमा हाम फालेर आत्महत्याको प्रयास गरेको सुनसरी प्रहरीका प्रमुख एसपी सञ्जयसिंह थापाले जानकारी दिए । उनका अनुसार हामफालेर आत्महत्या गर्ने सवैलाई प्रहरीले उद्धार गरेको छ ।
असार १ गते सुनसरी गढी गाउँपालिका ६ का ७८ वर्षीय एक बृद्धलाई उद्धार गरि प्रहरीले आफन्तलाई बुझाएको थियो । असार २१ गते विराटनगर महानगरपालिका १० का ५५ वर्षीया महिला, साउन ४ गते विराटनगर–३ की ३५ बर्षीया महिला, साउन २० गते भारत मधुवनी जयनगर चित्र गुप्त कोलोनीका २५ वर्षीय युवा, साउन २४ गते सुनसरी इटहरी उपमहानगरपालिका–६ का ६५ वर्षीया महिला र काभ्रेपलान्चोक–१३ का ४० बर्षीया महिलाले आत्महत्याको प्रयास गरेको एसपी थापाले बताए ।
पारिवारिक समस्या तथा आर्थिक तनावका कारण आत्महत्याको बाटो रोजेको बताउने गरेको प्रहरीले जनाएको छ । आत्महत्याको प्रयास गरिरहेको अवस्थामा प्रहरी चौकी कोसी ब्यारेजको टोलीले नदीबाट उद्धार गरी आफन्तलाई जिम्मा लगाउँदै आएको एसपी थापाले बताए ।
उनले भने, ‘प्रहरीले उद्धार गर्दा मलाई छाडि दिनुहोस् म मर्न चाहन्छु समेत भन्ने गरेका छन् ।’