काठमाडौं– कलाकार जितु नेपालले चलाउँदै आएको रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’ लोकप्रिय भैरहेका बेला विश्वमै कोरोना महामारी फैलियो । त्यसको असर नेपालमा सुरु भएलगत्तै भएको लकडाउनका कारण यो शो पनि बन्द भयो ।
बन्द भएको ‘मुन्द्रेको कमेडी क्लब’ यहि असोज २६ गतेबाट पुनः सुरु हुने भएको छ । तर, यो शो को अध्यक्षमा रहेकी दीपाश्री निरौला अबका शृखलामा नदेखिने भएकी छिन् । उनको ठाउँमा अभिनेत्री करिष्मा मानन्धरलाई भित्राइएको छ ।
मुन्द्रेको कमेडी क्लबबाट बाहिरिएपछि दीपाश्रीले जितु नेपाल र मुन्द्रेको कमेडी क्लब टीमलाई धन्यबाद दिएकी छिन् । उनले छिट्टै टेलिभिजनको पर्दामा देखिने समेत बताएकी छिन् ।
लामो समयपछि सुरु हुन लागेको ‘मुन्द्रेको कमेडी क्लब’को यो दोस्रो सिजन भनिएको छ । पहिलो सिजनभन्दा फरक स्वाद पस्कनका लागि कमेडी क्लबमा केहि हेरफेर गरिएको जितु नेपालले बताएका छन् । ‘मुन्द्रेको कमेडी क्लब’को दोस्रो सिजनको पहिलो भाग असोज २६ गतेदेखि हरेक सोमबार साँझ प्रसार हुने छ ।
‘मुन्द्रेको कमेडी क्लब’ नयाँ सिजनमा करिश्माका साथमा खड्गबहादुर पुन मगर पनि देखिने छन् । नयाँ सिजनमा कलाकारसँगै सेटअप पनि नयाँ देखिने जितुले बताए ।