काठमाडौं– सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कार्यदलले बुझाएको प्रतिवेदनका बारेमा छलफल हुँदै छ ।
शनिबार पार्टीभित्रको विवाद समाधान गर्न विष्णु पौडेलको नेतृत्वमा बनेको ६ सदस्यीय कार्यदलले प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन कार्यन्वयन गर्नेबारे छलफल हुने स्रोतले बताए ।
प्रतिवेदनमा ओलीले सरकार सञ्चालन गर्ने र प्रचण्डले पार्टी सञ्चालन गर्ने सुझाव दिएको बताइएको छ । सरकारलाई प्रभावकारी बनाउन केन्द्रका मन्त्रीदेखि प्रदेशका मुख्यमन्त्रीसम्म हेरफेर गर्न प्रतिवेदनमा सुझाव दिइएको छ । पार्टी एकताको भावनाअनुरूप दुवै अध्यक्ष मिलेर जान र एकताको महाधिवेशन चैतमा गर्न पनि सुझाव दिइएको छ ।
शनिबार बुझाएको प्रतिवेदन आइतबार दुवै अध्यक्षले अध्ययन गरेर आज (सोमबार) त्यही प्रतिवेदन कार्यान्वयनबारे छलफल हुने बताइएको छ ।
प्रतिवेदन कार्यान्वयन बारेमा दुई अध्यक्षबीच छलफल भएपछि सचिवालय र स्थायी कमिटीमा लैजान प्रतिवेदनमा सुझाव दिइएको छ ।