काठमाडौं– गोंगबुमा मारिएका कृष्णबहादुर बोहोराको शव व्यवस्थापनमा अभियुक्त कल्पना मुडभरी पौडेलले १५ वर्षीया छोरी प्रयोग गरेको पाइएको छ । अभियुक्तले बोहोराको शव व्यवस्थापन गर्न कठिनाइ भएपछि छोरीको सहयोग लिएको अनुसन्धानबाट खुलेको हो ।
प्रहरीका अनुसार अभियुक्तले पानी परेकाले छोरीलाई छाता ओढाउन लगाएर शव व्यवस्थापन गरेकी थिइन् ।
घटना कसरी भयो ?
अनुसन्धानबाट कल्पनाले बोहोरालाई आफ्नै कोठामा बोलाएर मदिरासहित दही, चिउरा मासुसमेत खान दिएको खुल्न आएको छ । दहीमा पाँचवटा निद्रा लाग्ने औषधि मिसाएर खुवाएकी थिइन् । त्यसपछि बोहरा लठ्ठिएर सुतेपछि फलामको हम्मरले अण्डकोषमा हानेर मारेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । त्यसपछि सलले बाँधी धारिलो हतियार प्रयोग गरी टाउको र खुट्टा छिनार्इ झोलामा राखेर आफैंले फ्याँकेको महिलाले बयान दिएकी छिन् । उनले घटना स्वीकार गरेको र अन्य पाटो भने अनुसन्धानको क्रममा रहेको एसएसपी थापाले बताए ।
भोलिपल्ट चिनजानको एम्बुलेन्समार्फत उनी चितवन फर्किएको खुल्न आएको छ । त्यो एम्बुलेन्स आफ्नो नातेदारको रहेको बुझिए पनि यकिन भइनसकेको प्रहरीले जनाएको छ । घटना सबै घरभित्र घटाएर एक्लै शव व्यवस्थापन गर्न नसक्दा छोरीको सहयोग लिनुपरेको उनले बयान दिएकी छिन् ।
प्रहरीले घटनामा प्रयोग भएको धारिलो हतियार, ह्याम्बर, रगत लतपतिएको पञ्जा म्याट्रेस, मृतकका कपडा, स्लिपिङ ट्यावलेटका खोल, मोबाइल सेट बरामद गरेको छ । आज घटनाबारे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै प्रहरीले कर्तव्यज्यान मुद्दामा अनुसन्धान थालेको जनाएको छ । पैसाको लेनदेनको विषयमा भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।