मकवानपुर– हेटौँडामा मोटरसाइकल दुर्घटना हुँदा एकजना किशोरको मृत्यु भएको छ । सोही दुर्घटनामा एक जना घाइते भएका छन् । मोटरसाइकल दुर्घटनामा चालक भीमफेदी–९ नामटारका १८ वर्षीय अजय विश्वकर्माको मृत्यु भएको हो ।
हेटौँडा उपमहानगरपालिका–११ थाना भर्याङ सडकमा रोकिराखेको बा९७ प ५४१३ नम्बरको ट्रकमा गएराति हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ५६७९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भिर घाइते भएका विश्वकर्माको उपचारको क्रममा मृत्यु भएको हो ।
अत्यधिक गतिमा मोटरसाइकल चलाएकोले दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । मोटरसाइकलको पछाडि सवार २४ वर्षीय सुनिल सुनार सामान्य घाइते भएका छन् ।