डोटी– डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । पाँच घाइते भएका छन् । घर भत्कदा ३५ वर्षीया विष्ना लुहार, उनका ११ वर्षीय छोरा पारस, ७ वर्षीया छोरी सिरुर ४ वर्षकी छोरी जेनिसाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेले जानकारी दिए ।
घरमा पुरिएर ३३ वर्षीय घर मालिक लोगे लुहार, उनकी आमा ५२ वर्षीया पाना, सासु ५६ वर्षीया घाङरी विक, सालो १३ वर्षीय इन्द्र विक तथा छोरी दुई वर्षीया अस्मिता लुहार घाईते भएका छन् । घाइते लोगे, पाना, घाङरी तथा इन्द्रको अवस्था गम्भीर रहेको र अस्मिताको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घाइतेलाई उपचारका लागि डोटीको दिपायलमा रहेको शैलेश्वरी अस्पतालमा ल्याइएको छ ।
सिलेटले छाएको तीनतले घरमा राति सुतिरहेको बेला अचानक घर भत्किँदा उनीहरुको ज्यान गएको प्रहरीले जनाएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय मौवानगरदहका प्रमुख तथा प्रहरी निरीक्षक वीरबहादुर बुढाको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिनुभयो । घरभित्र च्यापिएका शवको प्रहरी टोलीद्वारा निकाल्ने काम भइरहेको छ । घटनास्थल जिल्ला सदरमुकाम सिलगढीबाट दुई÷तीन घण्टाको दूरीमा रहेको छ । घर भत्किएका कारण कम्तीमा पनि रु १० लाख बराबरको धनमालको क्षति भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
–रासस