काठमाडौं– काठमाडौंको पुतलीसडकमा आगलागी भएको छ । काठमाडौं महानगरपालिका–३१ पुतलीसडकस्थित कृष्णशंकर कसजुको घरको दोस्रो तलामा आज अपराह्न आगलागी हुँदा कन्सल्टेन्सीमा क्षति पुगेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता सोमेन्द्रसिंह राठौरले आगलागी हुँदा स्टान्डर्ड एजुकेसन कन्सल्टेन्सीको एक कोठामा क्षति पुगेको जानकारी दिए ।
विद्युत् चुहिएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ । कन्सल्टेन्सी बन्द रहेका बेलामा एक्कासि धुवाँको मुस्लो बाहिर निस्केपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले काठमाडौं महानगरपालिकाको दमकलको सहायतामा अहिले उक्त आगो नियन्त्रणमा लिइसकेको छ । आगलागीबाट के कति क्षति भयो भन्नेबारे तथ्यांक संकलन भइरहेको प्रहरी उपरीक्षक राठौरले बताए ।