कोलम्बो– श्रीलंका पोदुजाना पेरामुना पार्टीका नेता एवं पूर्वराष्ट्रपति महिन्दा राजापाक्षले आइतबार श्रीलंकाको प्रधानमन्त्री पदको शपथ लिएका छन् । संसद्को निर्वाचनमा पेरामुना पार्टीले भारी बहुमत प्राप्त गरेसँगै महिन्दा राजापाक्ष प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
राजापाक्षले श्रीलंकाको राजधानी कोलम्बोको बाहिरी इलाकामा रहेको केलानीया बौद्ध मन्दिरमा आयोजित भव्य समारोहमा प्रधानमन्त्री पदको शपथ लिएका हुन् । शपथ कार्यक्रममा कूटनीतिक समुदायका व्यक्ति तथा सत्तापक्ष र विपक्षी दलका सांसदहरुको उपस्थिति थियो ।
राजापाक्षले श्रीलंकामा योसहित चौथोपटक प्रधानमन्त्री पदको शपथ लिएका छन् । राजापाक्षको दल पेरामुनाले गत अगस्ट ५ मा सम्पन्न चुनावमा २२५ सदस्यीय संसद्मा १४५ स्थानमा जितेको थियो । उनको नयाँ मन्त्रिपरिषद यही साताको अन्त्यसम्ममा घोषणा हुनेछ ।