काठमाडौं - तराईका केही जिल्लासँगै काठमाडौँ उपत्यका कोरोनाका हिसाबले उच्च जोखिममा परेको छ । काठमाडौँमा दैनिकजसो नै सङ्क्रमणदर बढ्दो रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
बाहिरी जिल्लाबाट भित्रिएका मानिसमा सङ्क्रमण देखिएपछि उनीहरुमार्फत धेरैमा सङ्क्रमण हुन सहयोग गरेको छ ।
विगतभन्दा अहिले मानिसले लापरवाही र हेल्चेक्रयाइँ गरिरहेको पाइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल बताए । उनका अनुसार स्वास्थ्य मापदण्ड नअनाउँदा समस्या बल्झिरहेको हो ।
भौतिक दूरीमा ध्यान दिइएको छैन् । भीडभाड बढ्दो छ । यातायातमा समेत मापदण्ड प्रयोग गर्न सकिएको छैन । उपत्यकाको नाकाबाट सहजरूपमा मानिस आवतजावत हुँदा सङ्क्रमण फैलिन सहयोग गरेको हो ।
त्यस्तै आपतकालीन उद्धारमा गएका सुरक्षाकर्मीबाट पनि कोरोना सङ्क्रमण भित्रिएको आशङ्का गरिएको छ । उपत्यकाका १२० भन्दा बढी स्थानमा सङ्क्रमण देखिइसकेको छ । रासस