काठमाडौं– प्रहरीले तास खेलिरहेको अवस्थामा १८ जनालाई पक्राउ गरेको छ । प्रहरीले कालिका नगरपालिका–५ बाट १३ जना र पोखरा महानगरपालिका–२६ बाट पाँच जना गरी १८ जनालाई पक्राउ गरेको हो ।
चितवनको कालिका नगरपालिका-५ ब्रम्हस्थान बस्ने ३३ वर्षीय राजकुमार चौधरीको घरमा तास खेलिरहेको अवस्थामा उनीसहित १३ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट नगद १ लाख ८८ हजार ८ सय ६२ रुपैयाँ र ४ बुक तास बरामद भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, पोखरा महानगरपालिका-२६ सक्नेरी बस्ने २७ वर्षीया मेलिना श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा उनीसहित ५ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट नगद १२ हजार ५ सय ९० रुपैयाँ र १ सय ६० पत्ती तास बरामद भएको हो । स्थानीय प्रहरीले उनीहरूमाथि थप अनुसन्धान गरिरहेको छ ।