टिस्टुङ– आय–व्ययको पारदर्शिताका सवालमा स्थानीय तह चुकेको आरोप लगाइन्छ । जसको उदाहरण महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा प्रशस्त भेटिन्छन् । यस आरोपलाई झुटो साबित गर्ने गरी काम गर्दै आएको स्थानीय तह हो, मकवानपुरको थाहा नगरपालिका । थाहाले कोभिड–१९ व्यवस्थापनका क्रममा भएको आम्दानी र खर्चको हिसाब दिनहुँ सार्वजनिक गर्ने गरेको छ ।
नगरपालिकाको वेबसाइट र स्थानीय सञ्चारमाध्यमबाट दिनहुँ हिसाब सार्वजनिक गर्ने गरिएको नगरप्रमुख लवशेर विष्टले बताए । ‘आर्थिक सुशासन र पारिदर्शिताका लागि हामीले यसो गरेका हौं । पहिले थाहा दर्शनका प्रणेता रुपचन्द्र विष्टले पनि भित्तामा टाँसेर हिसाब सार्वजनिक गर्नुहुन्थ्यो, हामी पनि उहाँकै बाटो हिँड्दै छौं,’ नगरप्रमुख विष्टले भन्नुभयो ।
नगरपालिकाले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार नगरको विपद् व्यवस्थापन कोषमा हालसम्म ५८ लाख ९३ हजार ९१४ जम्मा भएकामा खर्च गरेर १३ लाख २२ हजार बाँकी रहेको छ । कोभिड–१९ व्यवस्थापनमा ४५ लाख ८१ हजार ८९२ खर्च भएको थाहा नगरपालिका कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिका सचिवालय प्रमुख विवेक बिडारीले जानकारी दिए ।
गत चैतको दोस्रो साता बसेको नगरपालिकाको बैठकले कोभिड–१९ व्यवस्थापनका लागि विपद् व्यवस्थापन कोषमा नगरका तर्फबाट ४० लाख जम्मा गरेको थियो भने बाग्मती प्रदेश सरकारले पठाएको १२ लाख पनि सोही कोषमा राखिएको थियो ।
नगरपालिकाले अहिलेसम्म कोभिड–१९ व्यवस्थापनअन्तर्गत स्वास्थ्य संस्था तथा क्वारेन्टिनका लागि आवश्यक औषधि, उपकरण, क्वारेन्टिनका लागि खाद्यान्न, भाँडावर्तन, सरसफाइ सामग्री, प्रचारप्रसार, स्वास्थ्य परीक्षण, यातायात र पैदलयात्रीको रसदपानी आदिमा खर्च गरेको छ ।
हिसाबसहित कोभिड–१९ व्यवस्थापनसम्बन्धी सम्पूर्ण विवरण दैनिक रुपमा सार्वजनिक गर्ने थाहा नगरपालिका मकवानपुरकै एक मात्र स्थानीय तह हो । थाहाले नगद आम्दानी र खर्चको मात्र हिसाब सार्वजनिक नगरी जिन्सी रुपमा प्राप्त आम्दानीसमेत बाँधेर सार्वजनिक गर्ने गरेको नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलले जानकारी दिए ।
थाहा नगरपालिकाको कोभिड–१९ रोकथाम तथा नियन्त्रण सचिवालयले गत चैतको १३ गतेदेखि दैनिक रुपमा प्रतिवेदन सार्वजनिक गर्दै आइरहेको छ ।–रासस