काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको पहिलो खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा लुम्बिनीका कप्तान रोहित पौडेलले बाजी मार्दै सुदूरपश्चिमलाई ब्याटिङको निम्ता दिएका हुन्। गत संस्करणको फाइनलमा पनि यी दुई टोलीबीच नै प्रतिस्पर्धा भएको थियो। त्यसबेला लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो। यसपटकको खेलमा सुदूरपश्चिमसँग अघिल्लो हारको बदला लिने अवसर छ भने लुम्बिनी आफ्नो जितको लय कायम राख्ने लक्ष्यमा हुनेछ।
लुम्बिनीको यसपटकको टोलीमा केही परिवर्तन देखिएका छन्। अघिल्लो फाइनलमा राम्रो प्रदर्शन गरेका ओपनर दिनेश अधिकारी टोलीमा छैनन्। उनको ठाउँमा जनकपुर बोल्ट्सबाट आएका आसिफ शेखले ओपनिङ गर्नेछन्। जनकपुरबाटै आएका तीव्र गतिका बलर किशोर महतो पनि प्लेइङ ११ मा समेटिएका छन्। अघिल्लो सिजन लुम्बिनीलाई च्याम्पियन बनाउन महत्वपूर्ण योगदान दिएका नामिबियाका तीव्र गतिका बलर रुबेन ट्रम्पलमन भने आजको खेलमा उपलब्ध छैनन्। उनी राष्ट्रिय टोलीबाट आयरल्यान्डसँगको शृंखलामा व्यस्त छन्। लुम्बिनीले विदेशी खेलाडीका रूपमा डी’आर्सी शर्ट, निरोशन डिकवेला, समिम हुसैन र स्याड्ली भान साकवाइकलाई मैदानमा उतारेको छ। यता, सुदूरपश्चिमले बायाँहाते स्पिनर अनिल खरेललाई प्लेइङ ११ मा समावेश गरेको छ।अब एनपीएलको पहिलो खेलमै दुवै टोलीबीच कस्तो प्रतिस्पर्धा हुन्छ भन्ने चासो बढेको छ।