दमौली– कृषकलाई पेसामा प्रोत्साहन गर्न तनहुँको भिमाद नगरपालिकाले परिचयपत्र प्रदान गर्ने भएको छ । नगरपालिकाले व्यावसायिक कृषिका लागि परिचयपत्र प्रदान गर्न लागेको हो ।
नगरपालिकाले चालू आर्थिक वर्ष २०७७-७८ को नीति तथा कार्यक्रममा कृषकलाई परिचयपत्र वितरण गर्ने उल्लेख गरेको छ । व्यावसायिक कृषक परिचयपत्र वितरण गर्न लागिएको नगरप्रमुख मेखबहादुर थापाले जानकारी दिए ।
कृषकलाई परिचय वितरण गरेपश्चात् कृषि लक्षित कार्यक्रममा अनुदानलगायत सहयोग गर्न सहज हुने विश्वास गरिएको नगरप्रमुख थापाले बताए । पुँजी अभाव हुन नदिन व्यावसायिक कृषकलाई सहकारीमा आबद्ध गर्ने नीति अवलम्बन गरिएको छ । ‘एक उत्पादन : एक पकेट क्षेत्र’ कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न व्यावसायिक उत्पादनमूलक समूह तथा सहकारीलाई विशेष प्रोत्साहन गरिने थापाले जानकारी दिए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले कृषि विकास, पशु विकास, दूध उत्पादन तथा सहकारीको प्रवर्धन र विकासका लागि नवीन प्रविधि सम्भाव्य बस्तीको पहुँचमा ल्याउन सहकारी तथा कृषक समूहलाई संस्थागत विकास र व्यावसायिक तालिम प्रदान गर्ने कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।