काठमाडौं - काँकडभिट्टाबाट २२ किलोमिटर उत्तर झापा र इलाम जिल्लाको सिमानाका दुई झरना गर्मी छल्न चाहने आन्तरिक पर्यटकका लागि नयाँ गन्तव्य भएका छन् ।
गर्मी मौसममा अहिले निन्दा नदीको मुहानमा अवस्थित ती झरनामा झापाका युवायुवती दिनहुँ सयौँको सङ्ख्यामा नुहाउन र रमाउन जान थालेका छन् ।
झापामा गर्मी बढेको हुँदा झरनाको चिसो फोहोरामा नुहाउनेको भीड लाग्ने गरेको मेचीनगर–१ बाहुनडाँगीका वडाध्यक्ष पासाङ तामाङले बताए ।
झापाबाट इलामको जिर्मले जाने सडक बनाउँदा स्थानीयले हालै ती झरना पहिल्याएका हुन् । झरनामा नुहाएको तस्वीर सामाजिक सञ्जालमा पोष्ट हुन थालेपछि झरनाको प्रचार फैलिएको हो ।
एक साता अघिदेखि बढेको गर्मी छल्न झापाका विभिन्न स्थानबाट दैनिक ५ सय बढी युवायुवती यहाँ आउने गरेको हुँदा झरना वरपर पसल बढेका छन् ।
यहाँका दुई वटा झरना एक किलोमिटरको अन्तरमा छन् । सो स्थान पुग्नका लागि काँकडभिट्टाबाट बाहुनडाँगीको गाडागल्ली, कृष्ण थुम्की हुँदै जान सकिनेछ । रासस