एजेन्सी– एयर इन्डियाको विमान शुक्रबार साँझ केरलको कोझीकोडमा अवतरणका क्रममा दुर्घटना भएको छ । दुर्घटनामा हुँदा १६ जनाको ज्यान गएको र १ सय २३ घाइते रहेको विभिन्न भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
भारी वर्षाका कारण कारीपुर अन्तर्राष्ट्रिय विमानस्थलको रनवेमा भारतीय समय अनुसार साँझ ७ बजेर ४१ मिनेट जाँदा दुर्घटना भएको हो । दुर्घटनापछि विमानमा आगलागी भएको छ ।
दुबईबाट फर्केको ‘बन्दे भारत मिसन’ अन्तर्गतको एयर इण्डियाको आई एक्स १३४४ को फ्लाइट रनवेमा रोकिन नसकी विमानस्थलको ३५ फिट गहिरो खाडलमा खसेर दुई टुक्रा भएको छ ।
समाचार एजेन्सी यूएनआईका अनुसार १ सय ७० यात्रुलाई भने उद्धार गरिसकिएको छ । १ सय ९१ सवार सो विमानबाट १ सय २८ पुरुष, ४६ महिला, १० बालबालिका र ५ चालक दलका सदस्य रहेका थिए । दुर्घटनामा कम्तिमा पनि ४० जना गम्भी। घाइते भएको जनाइएको छ ।
दुर्घटना ज्यान गुमाउने पाइलट कमाण्डर दीपक बसन्त रहेको बताइएको छ । उनी यसअघि भारतीय एयरफोर्समा कार्यरत थिए ।
कसरी भयो दुर्घटना
एयर इन्डियाको यस ७३७ बोइङ रनवेमा अवतरणको क्रममा दुर्घटना भएको हो । भारी वर्षा भइरहेको थियो । भारतीय मौसम विभागका अनुसार २ हजार मिटरको भिजिविलिटी थियो । १० नम्बर रनवेमा अवतरण गरेको विमान अलि अगाडि पुगेर चिप्लेको थियो ।
चालकले विमानलाई दुर्घटनाबाट जोगाउने प्रयास गरेपनि असफल भएको बताइएको छ । विमानको अघिल्लो भाग क्षतिग्रस्त भएको छ ।
दुर्घटनापछि भारतीय प्रधानमन्त्रीले केरलको मुख्यमन्त्री पिनाराई विजयनसँग जानकारी लिएका छन् ।
१० वर्ष अघि भारतमा म्यागंलोर विमानस्थलमा पनि यस्तै दुर्घटना भएको थियो । जसमा १ सय ५० भन्दा बढीको ज्यान गएको थियो । त्यतिबेला पनि दुबईबाट फर्केको विमान दुर्घटनामा भएको थियो । केरल र म्यांगलोरको विमानस्थल दुवै पहाडी क्षेत्रमा पर्छन् ।