काठमाडौं– ललितपुरको हरिसिद्धि बस्ने रमेश न्यौपानेले गत साता मोटरसाइकल किने । उनी पहिले दैनिक सार्वजनिक यातायातमा आउजाउ गर्थे । उनले भने, ‘जोर–बिजोर प्रणाली र कोरोना त्रासले निजी सवारी किन्न बाध्य भएँ । समस्या भएकैले अहिले किनेर सिक्दै छु ।’
सरकारले असार १ देखि निजी सवारीसाधन खुलाए पनि आफूसँग सवारीसाधन नभएकाले उनी पसल खोल्न सातदोबाटो आउन सकेका थिएनन् । दैनिक पाँच किमि हिँडेर आउजाउ गर्न गाह्रो भएको उनले सुनाए ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले सार्वजनिक यातायात कहिले बन्द त कहिले जोर–बिजोरमा सञ्चालन गर्दा निजी सवारीसाधनप्रति नागरिकको आकर्षण बढिरहेको छ ।
बिक्री चाप
यातायात व्यवस्था कार्यालयका अनुसार साउन १ देखि बिहीबारसम्म ३ हजार ६४१ दुई पांग्रे सवारीसाधन बिक्री भएको छ । असारमा ६ हजार ५६६ बिक्री भएको थियो । लामो समयसम्म बन्दाबन्दी भए पनि मोटरसाइकल र स्कुटरको खरिद बिक्री गत वर्षभन्दा कम नभएको कार्यालयका प्रमुख दीपककुमार पोखरेलले बताए । उनका अनुसार कार्यालयमा नयाँ खरिद मात्रै नभएर नामसारीका लागि पनि धेरै सेवाग्राही आउने गरेका छन् ।
तीन महिनाभन्दा बढी समयसम्म बन्दाबन्दी हुँदासमेत गत वर्षभन्दा ६ हजार कम मात्रै दुईपांग्रै सवारीसाधन दर्ता भएका छन् । गत आवमा ७३ हजार ३ सय ३१ सवारीसाधन दर्ता भएका थिए । आव २०७५/७६ मा ७९ हजार ३०० र आव २०७४/७५ मा एक लाख ५ हजार ८६३ सवारीसाधन दर्ता भएका थिए ।
नयाँ खरिद र नामसारी बढिरहँदा कार्यालयमा जम्मा हुने राजस्व गत वर्षभन्दा बढी हुने देखिएको छ । गत वर्ष साउनमा ११ करोड २८ लाख ६ हजार १३१ राजस्व संकलन भएको थियो । बिहीबारसम्ममा १२ करोड ७५ लाख १२ हजार ४६६ संकलन भइसकेको छ । गत वर्ष असारमा १२ करोड ९९ लाख ८७ हजार ९६३ राजस्व संकलन भएको थियो भने यो असारमा ६ करोड ७४ लाख २१ हजार ३३८ संकलन भएको थियो ।–रासस