बेरुत– गत मंगलबार लेबनानको राजधानी बेरुतमा भएको विस्फोटका कारण करिब ८० हजार बालबालिका विस्थापित भएको संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले शुक्रबार जनाएको छ ।
विस्फोटका कारण धेरै बालबालिकामा मनोवैज्ञानिक प्रभाव परेकोप्रति चिन्ता व्यक्त गर्दै पिडित बालबालिका तथा उनीहरूको परिवारलाई सहयोग पुर्याउने प्रयास भइरहेको युनिसेफले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
‘विगत ४८ घण्टादेखि युनिसेफले लेबनानी अधिकारी तथा उद्धारमा खटिएका सहयोगी संस्थाहरूसँग सहकार्य गरी प्रभावित परिवारको आवश्यकताअनुसार सहयोग गरिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
युनिसेफले पिडित बालबालिका तथा उनीहरूका परिवारको स्वास्थ्य, खानेपानी तथा अन्य तत्काल आवश्यकताका विषयमा नजिक रहेर काम गरिरहेको युनिसेफका लेबनानस्थित प्रतिनिधि भाएलेट स्पिक वार्नीले बताए ।
लेबनान विस्फोटमा परी मृत्यु हुनेको संख्या शुक्रबार साँझसम्म १५४ पुगेको लेबनानी स्वास्थ्यमन्त्री हमद हसनले बताए ।