नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली–५ बन्दीपुरमा उत्पादित भुइँकटहरलाई बजारसम्म पुर्याउन समस्या भएको छ । विगतका वर्षमा भन्दा यस वर्ष भुइँकटहरको उत्पादन बढी भए पनि बिक्री वितरणका लागि समस्या भएको हो ।
विगतमा दलदले, केउरेनी, कावासोती तथा नारायणगढलगायतका बजारसम्म भुइँकटहर पुर्याइन्थ्यो । यस वर्ष पहिराले बाटो भत्काउँदा उत्पादन बजारसम्म लैजान अप्ठ्यारो भएको वडासदस्य पदम गाहाले गुनासो गरे ।
‘अप्ठ्यारो बाटो हुँदै टाउकामा भारी बोकेर हिँड्दा पनि कतै रुख ढलेर किचिन्छ कि भन्ने डर छ,’ गाहाले भने, ‘कतिले त डोकामा बोकेर फेदीसम्म पुर्याएपछि अटोरिक्सामा बजार लैजाने गरेका छन् तर सबैले बोकेर लैजान सक्ने अवस्था छैन ।’
गाउँमा प्रतिगोटा ४०–५० मा बिक्री हुने भुइँकटहर स्थानीय बजारमा १०० सम्म बिक्री हुने गरेको छ । देवचुली नगरपालिकाको केउरानी हुँदै बन्दीपुर पुग्ने सडक पहिरोका कारण विभिन्न ठाउँमा अवरुद्ध भएको देवचुली–५ का वडाध्यक्ष शिव सापकोटाले बताए । सडकमा गएको पहिरो हटाएर भुइँकटहर बजारसम्म पुर्याउन पहल भइरहेको सापकोटाको भनाइ छ ।
बन्दीपुरमा गाउँभरि नै व्यावसायिक रूपमा भुइँकटहर खेती हुने गरेको छ । देवचुलीको बन्दीपुर भुइँकटहरको पकेट क्षेत्रसमेत हो ।