काठमाडौं - नुवाकोटका सबै स्थानीय तहमा आजदेखि लकडाउन गरिएको छ । सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक यातायातका साधन आजदेखि अर्को निर्णय नहुँदासम्म रोक लगाएको छ ।
त्यस्तै अत्यावश्यक सेवाका साधनबाहेक अन्य सवारीसाधन प्रवेशमा पनि रोक लगाइने निर्णय गरेको छ । राति ८ बजेदेखि बिहान ६ बजेसम्म एम्बुलेन्सबाहेक अरु सबै किसिमका सवारी साधन प्रवेशमा पनि रोक लगाइएको प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले बताए ।
बैठकले बाह्र वर्षमुनिका बालबालिका, अशक्त व्यक्ति, बिरामी, ज्येष्ठ नागरिक र गर्भवती तथा सुत्केरीलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन तथा हिँडडुल नगर्र्न समेत बताएको छ । कोरेना सङ्क्रमण रोक्न जिल्लाभित्र कडाइ गर्न थालिएको हो । रासस