पोखरा– नेपाल घुम्न आएका विदेशी पर्यटकले नेपाली खानाको थाली बनाउन एक दिने तालिम लिएका छन् । पोखराको चिप्लेढुंगास्थित कान्तिपुर होटल ट्रेनिङ इन्स्टिच्युटबाट विदेशी पर्यटकले नेपाली खानाको थाली बनाउन सिकेको होटल सञ्चालक विजय पौडेलले जानकारी दिए ।
‘एक दिन हामीलाई नेपाली खाना बनाउने तालिम दिनुस् भनेर आउनुभयो । हामीले १० जनाको टोलीलाई तालिम दियौं,’ उनले भने, ‘उक्त टोलीमा अस्ट्रेलिया, न्युजिल्यान्ड, बेलायत, फ्रान्सलगायत देशका नागरिक छन् ।’
फ्रान्सका नागरिक माइकलले नेपाली खाना निकै स्वादिष्ट र पकाउँदा पनि निकै रमाइलो लागेको प्रतिक्रिया दिए । प्रशिक्षकद्वय निश्चल देवकोटा र विजय सुवेदीले पर्यटकलाई नेपाली खाना बनाउन सिकाएका थिए ।–रासस