दमौली– बुधबार राति । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मसारका कृष्णमाया राना छोरासँग घरको पिँढीमा बसेकी थिइन् । डेढ वर्षीय छोरा नारायण रानाले कट्टुमा पिसाब फेरे । कृष्णमाया कट्टु फेरिदिनका लागि घरभित्र पसेर बाहिर निस्किइन् । उनकै अगाडि चितुवाले नारायणलाई झम्टियो । कृष्णमाया आत्तिइन्, चिच्याइन् तर केही सीप लागेन ।
- ‘हेर्दा हेर्दै चितुवाले छोरालाई झम्टिएर लगिहाल्यो । एक छिन चिच्याए तर मेरो केही सीप लागेन,’ रुँदै कृष्णमायाले भनिन् ।
‘हेर्दा हेर्दै चितुवाले छोरालाई झम्टिएर लगिहाल्यो । एक छिन चिच्याए तर मेरो केही सीप लागेन,’ रुँदै कृष्णमायाले भनिन्, ‘सँगै भएको छोरालाई केही सेकेन्डमै चितुवाले लगेर मार्यो ।’
त्यतिबेला कृष्णमायाका ससुरा पनि घरको पिँढीमै थिए । उनी कम सुन्थ्यो । यसैकारण चितुवाले नातिले उनले पत्तै पाएनन् ।
नारायणका बुबा विष्णुबहादुर मेलाबाट घर फर्किए । छोरा चितुवाले लगेको थाहा पाएर तत्कालै हारगुहार गरे । स्थानीय जम्मा भए । उनीहरूले नारायणलाई खोजे । एक–डेढ घण्टा खोजेपछि घरभन्दा तलको जंगलमा नारायणको टाउको र एउटा हात फेला पर्यो ।
मसारमा चार घरधुरीको मात्रै बसोबास छ । जुन ठाउँ चारैतिर जंगलले घेरिएको छ । चितुवाबाट मारिएका नारायण कृष्णमायाका कान्छा छोरा हुन् । जेठो छोरा रोहन ७ वर्षका छन् । घटना भएको बेला रोहन र कृष्णमायाकी सासू घरभित्र थिए ।
चितुवाको आक्रमणबाट बालकको ज्यान गएपछि स्थानीय त्रसित छन् । स्थानीय पूर्णबहादुर रानाले चितुवाले फेरि पनि आक्रमण गर्न सक्ने भएकाले सतर्क रहनुपर्ने बताए । ‘दुई चारदिन अगाडि पनि गाउँमा चितुवा आएको थियो, त्यतिबेला लखेटियो । यस्तो दुःखद घटना हुन्छ भन्ने सोचिएन,’ उनले भने ।
किरिया खर्च
यसैबीच, डिभिजन वन कार्यालय तनहुँले आज पीडितको घरमा पुगेर किरिया खर्चबापत ५० हजार प्रदान गरेको छ । उक्त रकम डिभिजन वन प्रमुख बरालले मृतक बालकका बुबा विष्णुबहादुरलाई प्रदान गरेका हुन् । चितुवाको आक्रमणबाट मृत्यु भएका बालकको परिवारलाई थप ९ लाख ५० हजार प्रदान गरिनेछ ।
शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले यस्ता घटना दोहोरिन नदिन सबै सतर्क हुनुपर्ने बताए । उनले भने, ‘जंगलका बीचमा भएका घरहरुमा चितुवाको बढी जोखिम देखिएको छ, रातिको समयमा बच्चालाई एक्लै नछाड्ने, घर बाहिर बत्ती राख्नेलगायतका काम गर्नुपर्ने देखिएको छ ।’
तनहुँमा चितुवा आक्रमण
तनहुँमा पछिल्लो समय चितुवाको आक्रमण बढ्दै गइरहेको छ । चितुवाको आक्रमणबाट २०७४ फागुनयता १० बालबालिकाले ज्यान गुमाएका छन् भने आठ जना घाइते भएका छन् । तनहुँमा चितुवा आक्रमणका घटना सबै रातिको समयमा भएका छन् । ‘साँझ परेपछि चितुवाले आक्रमण गर्ने गरेको देखिएको छ,’ डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले भने, ‘घरबाहिर कुरेर बस्ने र बच्चालाई आक्रमण गर्ने गरेको यस अगाडिको घटनाले देखाएको छ ।’
चितुवाको आक्रमणबाट २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका चार वर्षीया रन्जिता लम्साल, मंसिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ, २०७६ जेठ २४ गते भानु नगरपालिका–२ भकुण्डथोकका नौ वर्षीया पुष्पा अधिकारी, असोज २१ गते भानु नगरपालिका–१ जामुनेगैह्राका चार वर्षीय आशिष बानियाँ र भानु नगरपालिका–२ फुस्रेटारमा सात वर्षीय ऋतिक रोकाको मृत्यु भएको छ ।
त्यस्तै, २०७६ पुस १४ गते शुक्लागण्डकी नगरपालिका–३ रातमाटाका २२ महिनाका बालक रविन नेपाली, पुस २० गते आँबुखैरेनी गाउँपालिका–१ रानागाउँका ८ वर्षीय पुजन सिञ्जाली र माघ १३ गते बन्दीपुर गाउँपालिका–४ लोहीपाखाका १० वर्षीय इशक सुनारको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो ।