काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २० कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले मंगलबार गरिएको ८० जनाको परीक्षणमा २० जना कर्मचारीमा संक्रमण देखिएको जानकारी दिए ।
यसअघि आयोगमा १५ जना कर्मचारीमा संक्रमण देखिएको थियो । ती संक्रमण देखिएका अधिकांश अग्रपंक्तिमा काम गर्ने कर्मचारी र सुरक्षाकर्मी छन् । यसैगरी, गत मंगलबार नै महाशाखाले प्रधानमन्त्री निवास बालुवाटार र परराष्ट्र मन्त्रालयका कर्मचारीमा गरिएको परीक्षणमा भने संक्रमण नदेखिएको पौडेलले बताए । प्रधानमन्त्री निवास बालुवाटारमा ६० र परराष्ट्र मन्त्रालयका १८ कर्मचारीको स्वाब संकलन गरिएको थियो ।