काठमाडौं - काठमाडौं उपत्यकामा बुधबार मात्रै १ सय २ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेहरु धेरै जसो बाहिरी जिल्लाबाट आएका छन् ।
बुधबार कोरोना पुष्टि भएका मध्ये १६ जना मानिस सम्पर्क बाहिर छन् । बाहिर जिल्लाबाट उपत्यका प्रवेश गर्ने बेला स्वाब परिक्षणका लागि भरिने फारममा उनीहरुले गलत नम्बर दिएकाले सम्पर्क बाहिर रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाले बताए ।
उनको अनुसार त्यस्ता मानिसको मोबाइल नम्बर गलत भएको र मोबाइल स्विच अफ भएकाल उनीहरुको खोजी गर्न नसकिएको हो । त्यस्तै कतिपयले पीसीआर परिक्षण गर्दा नाम, ठेगाना र सम्पर्क नम्बर नै गलत दिएको पनि बताइएको छ ।
बुधबार संक्रमण पुष्टि भएका मध्ये ५६ जनालाई दुवाकोटको केएमसी, प्रहरी अस्पताल र कीर्तिपुरको आयुर्वेद अस्पतालमा व्यवस्थापन गरिएको छ भने २० जना घरमा नै आइसोलेसनमा छन् । अन्य ३२ जनालाई लक्षण तथा ३६ जनाको ट्राभल हिस्ट्री रहेको छ ।
मंगलबार पुष्टि भएका ६९ जनामध्ये १५ जना पनि घरमै आइसोलेसनमा छन् । आइसोलेसनमा हुनेहरुको पनि निगरानी भएको छैन ।