कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ स्थित वनहरा नदीमाथि निर्माण गरिएको झोलुङ्गे पुल बाढीको उच्च जोखिममा परेको छ । गत वर्ष रु दुई करोडभन्दा बढीको लगानीमा निर्माण गरिएको पुल भरपर्दो तटबन्ध निर्माण नहुँदा जोखिममा परेको हो ।
पुलको उत्तरतर्फको तिलकी र दुवाहा क्षेत्रमा नदीले जग्गा कटान तीव्र बनाएको पछि पुल जोखिममा परेको हो । जग्गा कटान रोक्नका लागि गत वर्ष प्रदेश सरकारको ४० लाखको लागतमा बनाएको १२० मिटर लामो तटबन्ध भत्किएपछि नदीले जग्गा कटान तीव्र बनाएको स्थानीय लक्ष्मण रानाले जानकारी दिउ ।
उनले भने, ‘तटबन्धको एक ठाउँमा १० फिट र अर्को ठाउँमा ७० फिट नदीको बाढीले भत्काएको छ ।’ तटबन्ध भत्किएपछि झोलुङ्गे पुलसमेत खतरामा परेको हो । तटबन्ध निर्माण ठेकेदारले राम्ररी नगर्दा भत्किएको स्थानीय बासिन्दाको भनाइ छ ।
तत्काल तटबन्ध निर्माण नगरिए नदी तटीय क्षेत्रमा बसोबास गर्ने ७५ घरधुरीमध्ये १५ घरधुरी नदीको उच्च जोखिममा पर्ने भएका छन् ।