ललितपुर– रातो मत्स्येन्द्ननाथको रथ तानेर पुल्चोकबाट गाःबहाल लग्ने विषय टुंगो लागेको छैन । मुलुकमा दिनानुदिन कोरोना महामारी बढेसँगै उक्त रथ तान्ने विषयका टुंगो नलागेको हो ।
विगतका वर्षमा मत्स्येन्द्रनाथलाई रथारोहण गराएको चार दिनमा पुल्चोकबाट गाःबहालसम्म रथ तानेर लगिन्थ्यो । यस वर्ष कोरोना त्रासका कारण कुन दिन तानिन्छ भन्नेबारे कुनै जानकारी भइनसकेको गुठी संस्थान शाखा कार्यालयका प्रमुख राजन भुजुले बताए ।
‘हामीले यही साउन १० गते मत्स्येन्द्रनाथलाई रथमा विराजमान गरायौं,’ उनले भने, ‘उनलाई रथमा राखेको चार दिनमा पुल्चोकबाट गाःबहाल तानेर लानुपर्ने चलन भएता पनि कोभिड–१९ फैलिने डरले आजसम्म तानेका छैनौंं ।’
लोकेश्वरको रथ पुल्चोकबाट तानेर पहिलो पटक गाःबहाल, गाःबहालबाट तानेर मंगलबजार, मंगलबजारबाट तानेर सुन्धारा, सुन्धाराबाट तानेर लगनखेल, लगनखेलबाट रथ तानेर जावलाखेल लाने चलन थियो ।– रासस