कञ्चनपुर– वेदकोट नगरपालिकाको छेलास्थित औद्योगिक क्षेत्र सञ्चालनको बाटो खुलेको छ । वन तथा वातावरण मन्त्रालयले औद्योगिक क्षेत्रको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) स्वीकृत गरेको हो ।
वन तथा वातावरण मन्त्रालयले रूख काट्न अनुमति नदिँदा छेला औद्योगिक क्षेत्रको सञ्चालन कार्य अवरुद्ध थियो । सरकारले पछिल्लो पटक सूदूरपश्चिम प्रदेश औद्योगिक क्षेत्र घोषणा गरेको यो क्षेत्रलाई २०५१ सालमा औद्योगिक क्षेत्र बनाउने घोषणा गरेको थियो । औद्योगिक क्षेत्रमा पर्ने सामुदायिक र राष्ट्रिय वन क्षेत्रका कारण अढाइ दशकसम्म छेला औद्योगिक क्षेत्र अन्योलमा रहेको थियो ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुको आग्रहमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले यसलाई प्राथमिकता दिएर सञ्चालनको बाटो खोलिदिएका छन् । यसअघिका वनमन्त्रीले रूख कटानीको समस्या देखाउँदा औद्योगिक क्षेत्र सञ्चालन अन्योलमा थियो । –रासस