काठमाडौं– बन्दाबन्दीको झन्डै पाँच महिनापछि सञ्चालन हुन लागेको अन्तर्राष्ट्रिय व्यावसायिक उडानका लागि नेपालका दुईसहित १२ वटा वायुसेवा कम्पनीले चासो देखाएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार साउन १९ सम्म १२ वटा वायुसेवा कम्पनीले नेपालमा अन्तर्राष्ट्रिय उडानका लागि प्रस्ताव गरेका हुन् । अन्तर्राष्ट्रिय उडानका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी क्षेत्रको हिमालय एयरलाइन्स, भारतको इन्डिगो एयर, चीनको एयर चाइना र चाइना साउदर्न, ओमानको सलाम एयर, कुवेतको जजिरा एयर, संयुक्त अरब इमिरेट्स (युएई)को फ्लाई दुबई, मलेसियन एयर, मालिन्दो एयर, एयर अरेबिया र टर्कीको टर्किस एयरलाइन्सले नियमित उडानका लागि प्राधिकरणमा निवेदन दिएका छन् ।
सरकारले भदौ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरिसकेको छ । सोहीअनुरुप दुवैतर्फका एयरलाइन्सले आफ्नो उडान तयारीलाई तीव्रता दिएका छन् ।–रासस