काठमाडौं– पोखराका रोजिता आचार्य क्षेत्री राष्ट्रिय निवन्ध प्रतियोगिताको विजेता बनेकी छन् । शैली थियटर र नेपाल वातावरण पत्रकार समूहको नयाँपुस्ता कार्यक्रमले संयुक्त रूपमा आयोजनामा गरेको प्रतियोगिताको आइतबार विजेता सार्वजनिक गर्दै ग्लोबल कलिजियट स्कूलमा कक्षा ११ मा अध्ययनरत उनी विजेता बनेका हुन् ।
प्रतियोगितामा दमहेश संस्कृत गुरूकुलम् देवघाट तनहुँका कक्षा १० का छात्र प्रवीण नेपाल दोश्रो र पञ्चोदय मावि धनगढी कैलालीका एसइईका छात्र पवन भट्ट तेश्रो भएका छन् ।
द नेदरल्याण्ड्सको द फ्रि प्रेस अनलिमिटेडको सहयोगमा नेपाली बालबालिकालाई मिडिया लिटरेसीका बारेमा जानकारी दिन र उनीहरूमा आलोचनात्मक ढङ्गले विश्लेषण गर्ने क्षमता विकासका लागि प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगिताको पुरस्कारमा प्रमाणपत्रसहित पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः रू १५,०००, १०,००० र ५,००० दिइने शैली थिएटरको कार्यक्रम संयोजक सरस्वती अधिकारीले जानकारी दिइन् ।
शैलीले फेसबुकमार्फत् गरिरहेको ‘शैली संवाद’ कार्यक्रममा अतिथि रहेकी समिक्षक तथा निबन्धकार कुमारी लामाले विजेताको नाम घोषणा गरेकी हुन् ।
१३३ जना सहभागी भएको प्रतियोगिताको विषय ‘नेपालमा मिडिया साक्षरता’ रहेको थियो ।