कैलाली– भारतबाट सीमानाका हुँदै नेपाल भित्रने क्रम जारी रहेको पाइएको छ । कैलाली जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए नेपाल भित्रने क्रम जारी रहेको बताए ।
‘बन्दाबन्दीको सुरुका समयमा सीमा नाका हुँदै भित्रिने नेपालीको संख्या धेरै हुने गरेको भए पनि अहिले भने भित्रिनेको संख्या घट्दो क्रममा छ,’ उनले भने, ‘आजभोलि दिनमा एक सयदेखि दुई÷तीन सयको हाराहारीमा नेपाली भित्रिरहेका छन् ।’
यसैगरी, जिल्ला प्रशासन कार्यालयले बाहिरका जिल्लामा आवतजावत गर्न आकस्मिक अवस्थाबाहेकका अन्य सवारी पास उपलब्ध नगराउने भएको छ । आफैं काजकिरिया बस्न जाने वा किरिया सकेर घर फर्कने, सरकारी अस्पतालबाट सिफारिस गरिएका सिकिस्त बिरामी, सरुवा भई रमाना लिएर हाजिर हुन जाने कर्मचारी र निजका परिवार र हवाई टिकट सुरक्षित भई टिकट सूचीमा नाम भएका विदेश जानुपर्नेबाहेकका अन्य सवारी पास स्थगन गरिएको कार्यालयका सूचना अधिकारी जोशीले बताए ।– रासस