मंगलबारे– इलाममा सशस्त्र प्रहरीका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४० सशस्त्र प्रहरीको स्वाब संकलन गरी पठाइएकामध्ये झन्डै आधामा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालय इलामका प्रमुख वृजकुमार दासका अनुसार यही साउन १३ गते उनीहरुको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो ।
हालसम्मका सशस्त्र प्रहरीका २७ जनामा संक्रमण पुष्टि भइसकेको छ । इलाम नगरपालिकाका ८९ जनाको स्वाब संकलन गरेर पठाइएको छ । जिल्लाभरिमा १ सय ६० जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल व्यक्ति विमल बरालले बताए ।
बाँकी सशस्त्र प्रहरीको स्वाब संकलनको तयारी भइरहेको बताइएको छ । आज पोजेटिभ देखिएका सबैलाई थप उपचारका लागि मोरङस्थित गोठगाउँमा लैजाने तयारी भइरहेको छ । यसअघि संक्रमण फेला परेकाहरुको सोही अस्पतालमा उपचार भइरहेको छ । योसँगै इलाममा कोरोना पुष्टि हुनेको संख्या ५७ पुगेको छ ।– रासस