एजेन्सी– २० मार्चको सुर्योदय अगाडि नै निर्भया बलात्कारका चारजना दोषीलाई फाँसी दिने निश्चित भएको छ। उनीहरुलाई फाँसी दिने डोरी विहारको एक जेलमा पठाइसकेको छ।
फाँसी दिनुअघि चारजना दोषी पवन गुप्ता, विनय शर्मा, अक्षय ठाकुर र मुकेश सिंहलाई परिवारसँग भेट्न अनुमति दिइएको छ। टाइम्स अफ इन्डियाका अनुसार परिवारसँग भेट्न र एक अर्कालाई छुन कोठाभित्र अनुमति दिइएको थियो। चारजनामध्ये तीनजनाको परिवार जेलमा भेट्नका लागि पुगेपनि अक्षय ठाकुरको परिवार नपुगेको विहार जेलको स्रोतलाई उदृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ।
२९ फेब्रुअरीमा पवन गुप्ता र विनय शर्माको परिवार जेलमा पुगे। उनीहरु परिवारसँग भेट्दा खुबै रोएका थिए। शर्मालाई जेलका अधिकारीहरुले सम्झाउनुपरेको थियो। अनियन्त्रित तरिकाले शर्मा रोएको उल्लेख गरिएको छ। २ मार्चको परिवारसँगको भेटमा मुकेश सिंह बढी समय शान्त देखिन्थे। तर, उनी बेला बेलामा भावुक भई रोएका थिए। उनी बारम्बार कानुनी विकल्प खोजि रहेका थिए।
ठाकुरको परिवार भने जेलमा पुगेनन्। उनकी पत्नी पुनिता देवीले पारपाचुकेको निवेदन अदालतमा दर्ता गरेकी छिन्। यसको सुनुवाई आज हुँदैछ। सन् २०१२ को डिसेम्बरमा दिल्लीको बसमा भएको सामूहिक बलात्कारमा निर्भयाको उपचारका क्रममा मृत्यु भएको थियो। घटनामा संलग्न पाँचजनालाई प्रहरीले पक्राउ गरेकोमा एकजनाले आत्महत्या गरेका थिए। चारजना लाई भने भोलि फाँसीको सजाय दिईदै छ।