चिप्लेढुङा – पर्यटकीय राजधानी पोखराको फेवा किनारमा रहेको रत्न मन्दिर भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै सर्वसाधारणलाई खुला गर्न भनिए पनि अहिलेसम्म खुलेको छैन। राजा वीरेन्द्र र उनका परिवारको सम्पत्ति नेपाल ट्रष्टमा आएसँगै विशेष संरक्षणमा रहेको यस ठाउँ अझै पनि सर्वसाधरणले हेर्न वातावरण बन्न सकेन। नेपाल ट्रष्टमा आएसँगै सर्वसाधारणको हितका लागि यो सम्पत्तिको उपयोग गर्ने भनी उल्लेख गरिए पनि सम्पत्तिको उपयोग भने हुनसकेको छैन।
नेपाल ट्रष्टका सचिव गजेन्द्र ठाकुर भ्रमण वर्षको शुरुआतसँगै यसलाई खुला गर्ने भनिए पनि यसका आन्तरिक पक्षहरुको व्यवस्थापनका कारण ढिला हुन पुगेको बताएका छन्। उनले यस विषयमा ट्रष्ट सकारात्मक रहेको र केही प्रक्रियागत कारणले ढिला भएको प्रतिक्रिया दिएका छन्। नेपाल ट्रष्ट ऐन, २०६४ को संशोधित व्यवस्थामा ‘ट्रष्टको सम्पत्ति राष्ट्रिय हितअनुकूल तथा ट्रष्टलाई फाइदा हुने गरी पर्यटकीय र व्यावसायिक कार्य सञ्चालन गर्न सकिने’ प्रावधान उल्लेख गरिएको छ।
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले रत्न मन्दिरको अवलोकनपश्चात पर्यटकीय दृष्टिकोणले उपयुक्त र ऐतिहासिक रहेको यस क्षेत्रलाई छिटो खोल्नपर्ने बताएका छन्। उनले पोखरा पर्यटकको उत्कृष्ट गन्तव्य भएकाले रत्न मन्दिर, हिमागृहले पर्यटन विकास र विस्तारमा थप टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन्। भट्टराईले रत्न मन्दिर र हिमागृह पोखराको र प्रदेशको मात्र नभई राष्ट्रकै पर्यटन विकासका रूपमा रहेको र आफूहरुले त्यही रूपबाट महत्वका साथ हेरेको बताएका छन्। उनले भने, ‘यसको व्यस्थापनका लागि विधि र प्रक्रिया पनि रहेका छन्। केही व्यवस्थापकीय कारणले ढिला भएको होला।’
नेपाल पर्यटन बोर्डका पूर्वसदस्य पर्यटन व्यवसायी वासु त्रिपाठीले विविध बहानाबाट रत्न मन्दिर खोल्न ढिला गरिएको बताएका छन्। उनले भने, ‘प्रदेश सरकारले ‘अपरेशन मोडालिटी’ सञ्चालन विधिसहितको सम्झौताको मस्यौदा नेपाल ट्रष्टलाई जतिसक्दो छिटो दियो उति छिटो काम अघि बढ्छ।’ उनले निजी क्षेत्रले ढोका ढक्ढक्याएको भन्दै अब सरकारी तवरबाट कामलाई तदारुकताका साथ अघि बढाउनपर्ने बताए।
गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले रत्न मन्दिर सर्वसाधारणका लागि खुला गर्न निकै ढिला भएको बताएका छन्। उनले भने, ‘विविध कारण देखाएर आलटाल गरिएको छ। यसको व्यवस्थापकीय संरचना निर्माण गर्न अग्रसर हुने हो भने महिना दिनभित्र सबै तयार गर्न सकिन्छ, तर चासो दिएजस्तो गर्ने तर काम अघि नबढाउने भएकाले विलम्ब भएको छ।’ उनले ट्रष्टका प्रमुख कार्यकारी अधिकृतसहितको टोलीले सर्भे गरेर प्रतिवेदन बुझाइसक्दा पनि काम अघि नबढ्नु दुःखद भएको बताएका छन्। उनले रत्न मन्दिरमा आकर्षक उद्यान बनाउन सांसद विकास कोषबाट रु २५ लाख छुट्याएको र यो प्रदेश मातहतबाट रत्न मन्दिर सञ्चालन हुनपर्नेमा जोड दिएका छन्।
रत्न मन्दिर फेवा किनारको रमणीय वातावरणमा करिब १ सय ११ रोपनी क्षेत्रफलमा फैलिएको छ। तत्कालीन राजा महेन्द्रले विसं २०१३ मा निर्माण गर्न लगाएर २०१५ मा यसले पूर्णता पायो र यसलाई रत्न मन्दिर भनेर नमाकरण गरियो। यस भवनमा राजपरिवारका सदस्य पोखरा आउँदा बस्ने गर्दथे। रत्न मन्दिर कूल तीन तलाको छ।
उक्त भवनमा ११ कोठा छन्। प्रशासनिक भवन, फेवातालसँगै तालघर, नेपाली सेनाका लागि ३८ कोठे लामो भवन छ। बङ्गला शैलीको रत्न मन्दिरमा दक्षिण भारतबाट ल्याइएका वेतका खाटलगायतका सामग्रीसहित कलात्मक तरिकाले सजावट गरिएको छ। राजा महेन्द्रका माइला भाइ हिमालय वीर विक्रम शाहले पनि रत्न मन्दिर नजिकै बनाएको हिमागृह त्यहाँ देख्न सकिन्छ। यसका अतिरिक्त बैठक कोठाहरू छुट्टाछुट्टै छन् भने भान्छा पनि अलग्गै छन्। दरबारभित्र रहेका सबै सामग्री सुरक्षित राखिएका छन्। सबै सिसी क्यामेराको निगरानीमा छन्।
रत्न मन्दिर र हिमागृह गण्डकी प्रदेश सरकारको मातहतमा ल्याउन थप अध्ययन गरी प्रतिवेदन पेश गर्न प्रदेश नीति तथा योजना आयोगका उाध्यक्ष डा गिरीधारी शर्मा पौडेलको संयोजकत्वमा एक कार्यदल गठन गरिएको छ। सो कार्यदलमा प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरे, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिव गणेशप्रसाद पाण्डे, विषयविज्ञ डा ध्रुव रेग्मी, पर्यटनविद् जुद्धबहादुर गुरुङ, सदस्यसचिवमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव यमप्रसाद पोखरेल रहेका छन्। रासस