काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटकलाई सहयोग गर्न दुई वटा रोबोट राखिएको छ। बिहीबार विमानस्थलमा आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइले उद्घाटन गर्दै यी दुई रोबोटकाे सेवा सञ्चालनमा ल्याइएकाे हाे। पर्यटन परी नामक यी दुई रोबोट आगमन र प्रस्थान कक्षमा राखिने छ। जसले विमानस्थलमा भएका सेवा सुविधाहरुको बारेमा पर्यटकलाई जानकारी उपलब्ध गराउनेछन्। दुबै रोबटले नेपाली, अंग्रेजी र चिनियाँ भाषामा सम्वाद गर्नेछन्। ४४ लाख रुपैयाँ खर्च गरेर सरकारले विमानस्थलमा राखेको यी रोबोट पाईला टेक्नोलोजीले निर्माण गरेको हो। जसले नेपालका पर्यटन गन्तव्य, भिषा प्रकृया र त्रिभूवन विमानस्थलको संरचना लगायतका विषयमा जानकारी दिनेछन्। डिजिटल नेपालको अवधारणासँगै नेपालको पर्यटनको क्षेत्रमा प्रविधिको उपयोग गर्ने उद्देश्यले त्रिभुवन विमानस्थलमा सो रोबोट राखिएको पर्यटन मन्त्रालयले जानकारी दिएकाे छ।