चितवन– नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै भरतपुर महानगरपालिकाले कार र्याली आयोजना गर्ने भएको छ। महानगरको पर्यटन प्रवर्द्धन गर्ने ध्येयले यही फागुन १० गते ‘भरतपुर–लुम्बिनी कार र्याली’ आयोजना हुन लागेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
‘चितवन घुम्न जाउँ ’ भन्ने सन्देश दिन र्याली आयोजना गर्न लागिएको महानगर प्रमुख रेनु दाहालले बताएका छन्। बुटवल र भरतपुर नगरको पर्यटन प्रवर्द्धन गर्न कार्यक्रम प्रभावकारी हुने प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले बताए।
र्यालीमा १५० कार सहभागी हुने अपेक्षा गरिएको छ। पर्यटकीय गन्तव्य प्रचार गर्न खोजिएको पर्यटन विकास समिति चितवनका महासचिव विश्व सुवेदीले जानकारी दिएका छन्। भरतपुर महानगरभित्र २९ वटा मुख्य पर्यटकीय गन्तव्य पहिचान गरिएको छ।
मेघौली, पटिहानी, बीसहजारी ताल, देवघाटधाम, ज्ञानेश्वरब्लक, नारायणी नदीबीच मोडेल तथा चौकीडाँडा महानगरको प्रमुख सात केन्द्र रहेका छन्। सङ्घीय सरकारको १०० गन्तव्यमा सूचीकृत बीसहजारी ताल, पटिहानी तथा वाग्मती प्रदेश सरकारको १० पर्यटकीय गन्तव्यमध्ये सूचीकृत मेघौली पनि महानगरभित्रै पर्दछ।
महानगरले पर्यटन प्रवद्र्धका लागि चालु आर्थिक वर्षमा ३२ वटा क्रियाकलाप गर्ने योजना बनाएकामध्ये हालसम्म १० वटा कार्यक्रम सम्पन्न भइसकेका छन्। भ्रमण वर्षलाई लक्षित गर्दै महानगरभित्र रहेका पर्यटकीय होटलमा विशेष छुटको कार्यक्रमसमेत शुरु गरिएको छ। (रासस)