रोल्पा– रोल्पा नगरपालिकाले निर्माण गरेको ढुङ्गे बगैँचा (रक गार्डेन)मा आन्तरिक पर्यटकको चहल पहल बढेसंगै यहाँका होटल व्यवसायीहरुमा समेत व्यस्तता देखिन थालेको छ।
पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले रोल्पा नगरपालिका–३ सातदोबाटोमा उक्त बगैँचा निर्माण गरिएको थियो। अहिले छोटो अवधिमा अवलोकन गर्नेहरुको घुइँचो लाग्ने गरेको छ।
भैँसेधारा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गणपति केसीले शनिबार ३०० बढीले अवलोकन गरेको जानकारी दिएका छन्। डिभिजन वन कार्यालय र सो नगरपालिकाले संयुक्त रुपमा रु १३ लाख खर्च गरी बगैँचा निर्माण गरेका थिए। चालू आर्थिक वर्षमा बगैँचाको थप काम गर्ने नगर प्रमुख पूर्ण केसीले जानकारी दिए।
नगरपालिका–३ का वडाध्यक्ष इन्द्रबहादुर थापाले बगैँचाले नगरको सुन्दरता बढेको जानकारी दिएका छन्। ढुङ्गाबाट निर्मित उक्त बगैँचा हेर्न रोल्पाका विभिन्न स्थानीय तहका अतिरिक्त प्यूठान दाङबाट समेत आउने गरेको छन्। जलजला भ्रमण गर्न आउने पर्यटकले बगैँचा पनि अवलोकन गर्ने गरेका जनाइएको छ। (रासस)