भद्रपुर– पर्यटन प्रवर्द्धन नेपाली खानालाई प्रोत्साहन र स्थानीय क्षेत्रमै उत्पादित कृषि उपजको प्रदर्शनी गर्ने उद्देश्यले झापाको अर्जुनधारा नगरपालिकामा बृहत अर्जुनधारा नगर महोत्सव हुने भएको छ। नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी यही फागुन ४ देखि १५ गतेसम्म सो महोत्सव हुने भएको हो।
महोत्सव अवधिभर यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई नगरपालिकाभित्रका पर्यटकीय क्षेत्र शहीदपार्क, अर्जुनधारा जलेश्वरधाम, सहकाले झरना आदिको भ्रमण गराइने नगरप्रमुख हरिकुमार रानाले बताएका छन्। नगरका ११ वडामा गोबरजाँच, पशु बन्ध्याकरण, कृत्रिम गर्भाधान, प्राविधिक परामर्श, अभिमुखीकरण, बाली उपचार, कृषि प्रविधिसम्बन्धी ब्रोसर वितरण, माटो परीक्षणलगायत नगरका योजना विषयमा जानकारी गराइनेछ।
महोत्सवलाई नगरपालिकाले रु २२ लाख बजेट विनियोजन गरेको छ। ‘सात दिनमा सात प्रदेश’ को मूल नारासहित मेचीनगर नगरपालिका वडा नं ४ को बाहुनडाँगी बजारमा बाहुनडाँगी सङ्गीत तथा पर्यटन महोत्सव आयोजना गरिनेछ। भ्रमण वर्ष २०२० लाई लक्षित गरी यही फागुन १७ देखि २३ गतेसम्म महोत्सव हुन लागेको हो।
आयोजक बाहुनडाँगी जेसिज सन् २०१९ का अध्यक्ष कञ्चन उप्रेतीले महोत्सवका अवलोकनकर्तालाई ग्रामीण संस्कार, संस्कृति, रहनसहन, रीतिरिवाजको चिनारी दिन महोत्सव सञ्चालन गर्न लागिएको बताएका छन्। सात दिनमा सात प्रदेश सरकारका प्रतिनिधिमण्डल पनि महोत्सवको प्रत्यक्ष अवलोकन गर्न आउने जनाइएको छ। महोत्सवमा विभिन्न जातीय परिकार, संस्कृति तथा पर्यटन, व्यावसायिक, जनचेतनामूलकलगायत ४० कक्ष रहनेछन्। महोत्सवमा करीब रु २७ लाख खर्च पूर्वानुमान गरिएको छ। (रासस)