बागलुङ – शिवरात्रि पर्वका अवसरमा यही फागुन ९ गते यहाँका पर्यटन सम्बद्ध सङ्घसंस्थाले ‘राइड टु डोहेरी, हाइक टु दारेगौँडा’ प्रवर्द्धनात्मक कार्यक्रमको आयोजना गरेका छन्।
मोटरसाइकल र पदयात्रामार्फत बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाका पर्यटकीय गन्तव्यको प्रचार एवं प्रवर्द्धनकाे प्रयास गरिएको हो। बागलुङ पर्यटन विकास केन्द्र, कालिका भगवती गुठी व्यवस्थापन समिति, काठेखोलाको वडा नं २ र पुष्पाञ्जली ग्रामीण विकास केन्द्र मिलेर कार्यक्रम आयोजना गरेका हुन्। सो दिन बिहान कालिका भगवती मन्दिरको प्रवेशद्वारदेखि शुरु हुने मोटरसाइकल यात्रा सर्वसिद्धिधाम पञ्चकोट, भीमादरबार हुँदै काठेखोला–२ डोहेरीमा पुगेर टुङ्गिनेछ। डोहेरीबाट ४५ मिनेट पदयात्रा गरेर दारेगौँडा पुग्ने कार्यक्रम रहेको आयोजक पुष्पाञ्जली ग्रामीण विकास केन्द्रका अध्यक्ष विक्रम शर्माले बताए। ‘पर्यटन प्रवर्द्धनकाे उद्देश्यले मोटरसाइकल यात्रा आयोजना गरिएको हो, कम्तीमा पनि ५० जना मोटरसाइकल चालक सहभागी हुने अपेक्षा लिइएको छ’, उनले भने। उक्त कार्यक्रमबाट नेपाल भ्रमण वर्षलाई समेत टेवा पुग्ने अपेक्षा लिइएको छ। लुकेर रहेका पर्यटकीयस्थलको पहिचान र प्रचारप्रसार हुने बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले बताए। वडा नं २ का अध्यक्ष विद्यापति शर्माले भिमापोखराका धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक क्षेत्र पर्यटकको पर्खाईमा रहेको उल्लेख गर्नुभयो। ‘हामीसँग थुप्रै सम्भावना बोकेका ठाउँ भए पनि तिनको उचित प्रवर्द्धन हुन सकेको छैन’, उनले भने। उक्त वडामा बाइसेचौबिसे राज्यका बेला भीमा दरबार, महारानी थान, डोहेरी, गुनगुनेको धुरी, दारेगौँडालगायत पर्यटकीय महत्व बोकेका ठाउँ छन्। भीमापोखराकै सिममा वर्षौंदेखि लाग्दै आएको शिवरात्रि मेला अहिले पनि यथावत छ। यो वर्ष पनि विविध खेलकूद, सांस्कृतिक कार्यक्रमसहित मेला हुँदैछ। सोही मेलाको अवसर छोपेर पर्यटन प्रवद्र्धनको कार्यक्रम आयोजना गरिएको हो। मोटरसाइकल यात्राका सहभागीले शिवरात्रि मेलामा पनि रमाउने अवसर पाउनेछन्। रासस