काठमाडौं – चार्टड एकाउन्टेन्टहरुको छाता संगठन नेपाल चार्टर्ड एकान्टेन्ट संघ (एक्यान) का अध्यक्ष आनन्दराज शर्मा वाग्लेले अध्यक्षमा पुनः उम्मेद्वारी दिने भएका छन। फागुन १० गते हुने चुनावका लागि हालका अध्यक्ष शर्माले उम्मेद्वारी दिने तयारी पुरा भईसकेको उनले बताए।
‘मगंलवार नोमिनेशन छ,’ शर्माले भने, ‘मेरो नेतृत्वमा प्यानल तयार भईसकेको छ।’ शर्मा प्यानलबाट उपाध्यक्षमा अरुण राउत, सचिवमा तेज सुवेदी, कोषाध्यक्षमा हेमन्तराज रमलीले उम्मेद्वारी दिनेछन् भने सदस्यमा मनिष अर्याल, प्रदिप अर्याल, टिका कार्की, केपी उपाध्याय, दिनेश केसी र अनिल लामीछानेले उम्मेद्वारी दिन बताइएको छ।
सदस्यहरुको आग्रहमा नै शर्माले पुनः उम्मेद्वारी दिन लागेको सदस्य पदका उम्मेद्वारी दिने तयारीमा रहेका मनिष अर्यालले बताए। ‘हामी सबैले उहाँलाई अध्यक्षमा पुनः आउनुपर्छ भनेर आग्रह गरेका हौँ,’ अर्यालले भने, ‘पहिलो कार्यकालमा पुरा हुन नसकेका महत्वपुर्ण कामहरुलाई पुरा गर्नका लागि संघलाई उहाँको आवश्यकता छ।’ शर्माले आफ्नो पहिलो कार्यकाल सफलतापुर्वक पुरा गरेको उनले दावी गरे।
शर्माको प्रतिवद्दता
पहिलो कार्यकालमा चार्टड एकाउनटेन्टसहरुको दायरा फराकीलो बनाउनका लागि शुरु गरीएको कार्यलाई पुरा गर्ने शर्माले प्रतिवद्दता जनाएका छन्। ‘बैंक र फाईनान्स मात्रमा होईन अरु क्षेत्रमा पनि चार्टड एकाउनटेन्टहरु हुनुपर्छ,’ उनले भने, ‘जसले गर्दा राष्ट्रको समग्र विकाशमा चार्टड एकाउनटेन्टहरुले भुमिका निर्वाह गर्न सक्छन्।’
मुलुक संघिय संरचनामा गएसँगै एक्यानलाई पनि त्यहि संरचनामा ढाल्दै जिल्ला–जिल्लामा संगठन विस्तार गर्ने योजना रहेको सुनाए। उनले आफ्नो दोश्रो कार्यकालमा काठमाडौंको मुख्य स्थानमा नै संघको भवन निर्माणका लागि आवश्यक कोष जम्मा गर्ने प्रतिवद्दता जनाए। ‘बबरमहल वरपर नै जग्गा र बिल्डिङ हेरेका छौँ,’ शर्माले भने, ‘त्यसको लागि आवश्यक पर्ने लगभग साडेँ सात करोड जती जम्मा गर्नका लागि विभिन्न कार्यक्रमहरु ल्याउछौँ।’
उनले समग्र सिएहरुको वृत्ति बिकाशका लागि विशेष खालका तालिमहरुको पनि आयोजना गरीने जानकारी दिए। यहि फागुन १० गर्ने हुने संघको ३२ औँ साधारण सभाबाट ३३ औँ कार्यकालका लागि पदाधिकारीहरुको चयन हुनेछ।