काठमाडौं। मधेश प्रदेश सरकारले आजदेखि संघीय सरकारविरुद्ध आन्दोलन सुरू गरेको छ।
प्रहरी समायोजनको अधिकार हस्तान्तण गर्नुपर्ने माग राख्दै मधेश सरकारले आजदेखि संघीय सरकारविरुद्ध आन्दोलन सुरू गरेको हो।
जसअनुसार आइतबार मधेश भवनभित्रको प्रदेश प्रमुख कार्यालय प्राङणभित्र मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, गृह तथा संचार मन्त्री भरत साह, राज्य मन्त्री रुबी कर्ण, खानेपानी तथा उर्जा मन्त्री ओमप्रकाश शर्मा धर्नामा बसेका छन्। उनीहरु एक सातासम्म दैनिक दुई घण्टा प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिनेछन्।
प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनअगावै प्रहरी समायोजन गर्न दिइएको ध्यानाकर्षणपत्रबारे नेपाल सरकारले कुनै चासो नदिएपछि बाध्य भएर पहिलो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत धर्नामा सुरू गरिएको प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरत शाहले बताए।
एक हप्ताभित्र पनि माग सम्बोधन नभए नेपाल सरकारविरुद्ध ‘थप कडा’ आन्दोलनको कार्यक्रम घोषणा गरिने उनले चेतावनी दिए।